जेठ २६ ।काठमाडौँ,पहाडका अग्ला झरनाबाट डोरीको सहायतामा झर्दै खेलिने छाँगावरोहणप्रति स्वदेशी विदेशीको आकर्षण बढाउन नुवाकोटको ककनीस्थित भुलभुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव आजदेखि सुरु भएको छ ।
नेपाल क्यानोनिङ एसोसिएसनको आयोजनामा हुन लागेको महोत्सवमा स्वदेशी, विदेशी गरी ३०० जनाको सहभागिता रहेको छ ।
नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्ट एसोसिएसन नेपाल तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा भुलभुले झरनामा आज र भोलि दुई दिनसम्म महोत्सव चल्नेछ ।
नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ जस्ता साहसिक पर्यटकीय गतिविधि लोकप्रिय भइरहेका बेला पछिल्लो समयमा छाँगावरोहणप्रति स्वदेशी विदेशीको आकर्षण बढाउन महोत्सव आयोजना गरिएको ट्रेकिङ एजेन्ट एसोसिएसन नेपालका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताउनुभयो ।
सिन्धुपाल्चोक, मनाङ, काभ्रेपलाञ्चोक, नुवाकोट, स्याङ्जा, लमजुङ, कास्की, ओखलढुङ्गा, काठमाडौँसहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् ।
सन् २०१३ मा पहिलो भोटेकोसी महोत्सव गरेको एसोसिएसनले गत वर्ष नुवाकोटको थानापतिस्थित छहरे झरनामा दोस्रो महोत्सव आयोजना गरेको थियो । नुवाकोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले स्थानीयवासीको सहयोगमा सो महोत्सव गरिएको स्थानीयवासी मधुसुदन ढकालले बताउनुभयो ।
एसोसिएसनले छाँगावरोहणबारे प्रचारप्रसार गरी यसको प्रवद्र्धन गर्न कार्यशाला, आधारभूत एवम् पुनर्ताजगी प्रशिक्षण चलाउँदै आएको छ ।