केवलको निधनबाट साहित्यमा क्षति

काठमाडौँ, २६ जेठ – साहित्यकार मेदनीकुमार केवलको निधनले नेपाली साहित्यलाई अतुलनीय क्षति भएको साहित्यकारले बताएका छन् । हिजो स्वर्गीय केवलको १३ औँ दिनको पुण्यतिथिका अवसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सहभागी साहित्यकारले नेपाली र अवधि साहित्यमा उहाँको योगदान अविस्मरणीय भएको चर्चा गर्नुभयो । साहित्यकार खिमानन्द पोखरेलले केवल एक सफल साहित्यकार मात्र नभई सरल र शालीन व्यक्तित्व भएको स्मरण गर्नुभयो ।

भारतको सिक्किममा साहित्यिक कार्यक्रममा सहभागी हुन पोखरेलसँगै पुग्नुभएका केवलको यही जेठ १३ गते हृदयाघातका कारण निधन भएको थियो । पोखरेलले कार्यक्रममा उहाँसँगको यात्रा र अन्तिम अवस्था भएका कुराकानीबारे जानकारी गराउनुभएको थियो ।

‘नेपाली भाषा बचाऊ’ अभियानका संयोजक डा बलदेव गाउँलेले स्व. केवलको योगदान साहित्य रचनामा मात्र नभई नेपाली भाषालाई बचाउनुपर्छ भन्ने सङ्र्घषमा पनि उत्तिकै भएको बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष तथा केवलका मित्र कुलचन्द्र वाग्लेले उहाँ एक स्वाभिमानी व्यक्ति भएको भन्दै साहित्यका लागि जुनसुकै समयमा जे पनि गर्न तयार रहने व्यक्त भएको उल्लेख गर्नुभयो ।

“उहाँ एक अत्यन्तै सहयोगी स्वभावको भएकाले हरेक समय त्यसका लागि तत्पर हुुनुहुन्थ्यो । उहाँले अवधि साहित्यलाई समेत नयाँ उचाइमा पुर्‍याउनुभएको छ । उहाँका राजनीतिक लेखकका रुपमा आफूलाई परिचित बनाउनुभएको थियो”– वाग्लेले भन्नुभयो ।

गोरखापत्रका पत्रकार त्रिभुवनचन्द्र वाग्लेले स्व केवलले आफूले दिएको योगदानका दाँजोमा अत्यन्तै सरल व्यक्ति भएकाले उहाँप्रति सच्चा सम्मान गर्दै उहाँको स्मृतिमा जीवनी प्रकाशित गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच, हिजै प्रजातान्त्रिक विचार समाजले विज्ञप्ति जारी गर्दै केवलप्रति श्रद्धाञ्जलि ज्ञापन गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *