ठाडो भाका शिरोमणि भेडीखर्के साँइला सम्मानित

बेँसीसहर, २७ जेठ – साहित्य र सङ्गीतका क्षेत्रमा योगदान गरेको भन्दै ठाडो भाका शिरोमणि दीर्घराज अधिकारी (भेडीखर्के साँइला) सम्मानित हुनुभएको छ । हरिदेवी कोइराला साहित्य सङ्गीत सम्मान कोष, पोखराबाट राष्ट्रिय पुरस्कार—२०७३ बाट अधिकारी सम्मानित हुनुभएको हो । लमजुङको मौलिक पहिचान बोकेको ठाडो भाकाको संरक्षण र सम्वद्र्धनमा विशेष योगदान पुर्‍याएबापत ठाडो भाका शिरोमणि ८४ वर्षीय दीर्घराज अधिकारी ( भेडीखर्के साँइला) लाई सम्मान गरिएको हो ।

उहाँलाई हिजो सुन्दरबजारमा आयोजित कार्यक्रममा लमजुङका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले सम्मान गर्नुभयो । विशेष गरेर मौलिक संस्कृति बोकेको ठाडो भाकाको श्रीवृद्धिमा विशेष योगदान गरेको भन्दै भेडीखर्केलार्ई नगद रु १५ हजारका साथ दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

जीवनको तीन दशक गायन क्षेत्रमा बिताउनुभएका अधिकारीलाई बुढेसकालमा आएर भएपनि विभिन्न सामाजिक संस्थाले सम्मान गर्दा भने निकै खुसी लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जीवनको सबै उमेर गायन क्षेत्रमा बिताएँ । बुढेसकालमा न छोरा छोरीले हेर्छन् नत सरकारले नै । धन्न विभिन्न सामाजिक संस्थाले सम्मान र आर्थिक सहयोग गरेका छन् ।” उक्त राष्ट्रिय पुरस्कार कोषबाट यसअघि नारायण रायमाझी (पाल्पा), कुलबहादुर केसी (कास्की)र डा गोविन्द आचार्य (दाङ) सम्मानित भइसक्नुभएको छ ।

भेडीखर्के साँइला उक्त सम्मान पाउने चौथो व्यक्तित्व हुनुहुन्छ । हरिदेवी कोइराला साहित्य सङ्गीत सम्मान कोष २०६४ सालमा स्थापना गरिएको हो । त्यस वर्ष उहाँको पहिलो एकल साँझबाट सङ्कलन भएको रकम रु पाँच लाखलाई अक्षयकोषमा राखेर प्रत्येक दुई-दुई वर्षमा लोककला तथा साहित्यका साधकलाई सम्मान गर्ने गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *