“कविता कन्सर्ट” अब अष्ट्रेलियामा:

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

 

कवि नवराज पराजुली नेपाली साहित्यमा कविता लेखन साथै वाचन शैलिबाट पछिल्लो समय लोकप्रिय बनेका छन। त्यतिमात्र होइन कविता नै सुन्न मननपराउने हरु पनि उनका कविता सुन्दा मन्त्र मुग्ध हुन्छन्। मेरो देश लोकसेवा, खोया,हेप्पी बर्थडे,पिरती,ब्रह्माजीको रजश्वला, उनका सबैभन्दा रुचाइएका कविताहरु हुन। नेपाल भित्रै उनले वाचन गर्ने ती कविताहरु अब अष्ट्रेलियाका नेपालीहरुले प्रत्यक्ष हेर्न र सुन्न पाउने भएका छन। “कविता कन्सर्ट”नाम दिइएको सो कार्यक्रमको निम्ती उनी अष्ट्रेलिया आउने भएका हुन।

अष्ट्रेलियाका विभिन्न ५ शहरहरुमा उनको “कविता कन्सर्ट”कार्यक्रम हुनेछ। २२ जुलाई २०१७ पर्थ,२३ जुलाई सिड्नी,२८ जुलाई ब्रिस्बेन,३० जुलाई एडिलेड र ५ अगष्ट मा मेलबर्नमा सो कार्यक्रम हुनेछ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लुले सिड्नीमा सो कविता कन्सर्ट आयोजना गर्नेछ। सो कार्यक्रमको विस्तृत जानकारी छिट्टै सार्बजनिक  गरिने अनेसास एनएसडब्लुले बताएको छ।
कवि पराजुलीको पछिल्लो कविता संग्रह सगरमाथाको गहिराइ बाट यो मन छुने कविता ।

 

 
यो संसारको
कुनै महान् चित्रकारलाई
यो विश्व नै पोत्न पुग्ने रङ चाहिए
मेरो देशका गुराँससँग सापटी माग्नु
म त गुराँसको देशको मान्छे
तर
यो कुरा पछि गरौंला कि
मैले खाने चामलको रङ किन्न
म आफूचाहिं अरब आएको छु।

यो संसारको
कुनै महान् परोपकारीलाई
यो विश्वकै फोहोर पखाल्न पुग्ने पानी चाहिए
मेरो देशको नदीसँग सापटी माग्नु
तर

यो कुरा पछि गरौंला कि
मेरो घिटघिट गर्दै गरेको छोरोको घाँटीलाई चाहिने
दुई थोपा औषधि किन्न
म आफूचाहिं अरब आएको छु।

विद्युत् उत्पादनमा
संसारको सबैभन्दा बढी क्षमता राख्ने मेरो देशले
मेरो बिदाइमा आएकी मेरी श्रीमतीको आाखाबाट खसेको आँसु
भेला गरेर एकैचोटि टर्वाइनमा खसायो रे

एक मेगावाट बिजुली निकाल्यो रे
तर
मेरो देशको आकाशमा अझै पनि काला ताराहरु चम्किरहन्छन्।

मलाई थाहा थियो
खाडीमा पैसाको बाढी आउँदैन भनेर
तर
भन्दिनेले
मेरो प्वाल परेको छानोबाट राति तारा र्झछन् भन्दिए

भन्दिए
ताराका टुक्राले मेरो परिवारलाई टुक्रा-टुक्रामा फुटाउनेछन्
मेरो मनमा गाँठो पर्यो

त्यो पनि सुर्क्याउनेबिनाको
भन्दिनेले पैसामा बाआमाले पनि छहारी फेर्छन् भन्दिए
सोचें
तातेताते गराउने बुबाको हात किन्नुपर्यो भने ?
हाऽहाऽहाऽ लोइलोइलोइ गराउने आमाको काख किन्नुपर्यो भने ?
बहिनीले निःशुल्क टाउकोमा ठुङ हान्दिन भनी भने ?
दिदीले सुनाउने सुनकेशरी रानीको कथाको पैसा तिर्नुपर्यो भने ?
मैले त मेरो ईश्वर पनि पर देख्न थाले
यस्तो लाग्यो ऊ ईश……वर होइन ईश…….पर थियो
तर
म त बुद्धको देशको मान्छे

त्यसैले शान्त भएर अरब आएको छु।

मैले मलाई जन्माउने देवता छोडेर
म आएको यो अरबमा रबचाहिं कहाँ छ ?
यो मरूभूमिमा मरुँ भन्ने मान्छे मात्र भेट्छु
जब घडीमा बाह्र बजेको देख्छु
यस्तो लाग्छ
यो घडीका तीनैवटा काँटाहरू सामूहिक आत्महत्या गर्दै छन्।

यो रूवाजस्तो मन बालुवासँग लड्दालड्दा
यहाँ मेरो जवानी पग्लिन्छ
घरमा रूँदारूँदा

श्रीमतीको सिरानी पग्लिन्छ
ए देश !
सगरमाथाको शिखरमा उभिएको
संसारको सबैभन्दा अग्लो मान्छे म
आज खाडीमा गाडिएको छु
कसैले बाहिर निकाल मलाई !
म मर्नुअघि
मेरा बूढा भएका बुबाका नङ नदुखाईकन काट्न चाहन्छु
म मर्नुअघि
मेरी आमाले पकाएको माली गाईको बिगौती चाख्न चाहन्छु
म मर्नुअघि
मेरी श्रीमतीको ओठमा मेरै लागि मात्र फक्रिएको गुरास हेर्न चाहन्छु
म मर्नुअघि

मेरी छोरीले
उसकी आमाले तिखारी दिएको पेन्सिलले
पहिलोपल्ट लेखेको “क” हेर्न चाहन्छु।

ए देश !
मेरी आमाले बनाएको सानो काठको बाकस भर्ने पैसा बोकेर
म अरबबाट घर फर्के भने त ठीकै हो
तर
त्योभन्दा ठूलो रातो काठको बाकसमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *