चितवन सौराहामा हात्ती महोत्सव सुरु

साउन मसन्तमा आएको वाढीले लछारेको चितवनको पर्यटकीय गन्तव्य सौराहा पूरानो लयमा लगभग फर्किएको छ । बाढीले करोडौंको क्षति गराएपनि त्यसलाई विर्सदैं हात्ती महोत्सवमा रमाउन थालेका छन् सौराहाका होटल व्यवसायी ।

 

मंगलबार सौराहाको वाघमारा चौरमा सुरु भएको हात्ती महोत्सव १५ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।

सौराहामा हात्ती महोत्सव हरेक वर्ष हुने गरेको छ । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुने १४ औं संस्करणको हात्ती महोत्सवको मूल उद्देश्य सौराहाको आन्तरिक तथा बाहृय पर्यटकलाई आर्कषित र वृद्धि गर्ने रहेको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले अनलाइनखबरलाई बताए ।

महोत्सवमा संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरले जानकारी दिए । गएको साउन २८ र २९ गते आएको बाढिले करोडौंको क्षति भोगेको सौराहाले पर्यटकहरूलाई नवनिर्मित सौराहा देखाउने एक अवसर हात्ती महोत्सव हुने घिमिरे बताउँछन् ।

केके हुन्छ हात्ती महोत्सवमा

मूख्य रुपमा हात्ती सफारी र हात्तीका गतिविधि हेर्न मानिसहरु पर्यटकीय नगरी सौराहामा आउने गर्दछन् ।

यस बर्ष महोत्सवमा हात्तीको वनभोज, फाष्टवाक, हात्तीका छावाहरूको फुटबल प्रतियोगिता महोत्सवको आर्कषण हुन् । त्यसैगरी हात्तीपोलो, हात्ती पेन्टिङ, वार्थिङ कार्यक्रमका साथै गाडा र टाँगा दौड प्रतियोगितालाई पनि समावेश गराइन्छ ।

हात्ती वनभोजमा १ सय हात्ती सहभागी गराइने महोत्सव संयोजक दीपक भट्टराईले जानकारी दिए । सौराहामा ५७ वटा निजी हात्ती छन्, जसमध्ये ७० प्रतिशत महोत्सवमा सहभागी हुनेछन् । साथै अन्य निकुञ्जका हात्तीहरु पनि सहभागी हुन्छन् ।

यसवर्ष हात्तीको वाथिङ ९नुहाउने० कार्यक्रम थपिएको छ । ‘हामीले हात्तीमैत्री खेलहरु मात्रै राखेका छौं, हात्तीलाई कष्ट दिने कुनै उद्देश्य छैन’ संयोजक भट्टराईले भने, ‘छावाको फुटबल, वनभोज कार्यक्रममा हात्ती रमाएको पाउँछौं ।’

महोत्सवमा विभिन्न जातजातिका साँस्कृतीक पहिचान झल्कने स्टलसहित ४० वटा स्टल राखिएको छ । आदीवासी थारु जातिको संस्कृति झल्कने ड्रेस लगाएर फोटो खिच्न मिल्ने व्यवस्था पनि गरिएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष घिमिरले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *