कलंकी–महाराजगञ्ज खण्ड विस्तारमा चीनको अग्रसरता

काठमाडौं । चक्रपथको कलंकी–महाराजगञ्ज खण्ड विस्तारमा चीनले अग्रसरता लिएको छ । कुल २७ दशमलव दुई किलोमिटरमध्ये उक्त खण्ड आठ दशमलव दुई किमि लम्बाइको छ ।

चीनको वाणिज्य मन्त्रालयले जुन २०१८ सम्ममा उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोलहरु हटाउन सडक विभागसँग लिखित आग्रह गरेको छ । चक्रपथको कोटेश्वर–कलंकी खण्ड चीनले नै विस्तार गरिरहेको छ, जुन साढे नौ किमि लामो छ ।

 

कलंकी–महाराजगञ्ज खण्ड विस्तारको लागत निक्र्योल भइसकेको छैन । उत्तरी छिमेकीको ताकेतापछि विद्युत् र टेलिफोनका पोलहरु हटाउन शुरु गरिने विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए । ‘अब पोलहरु हटाउने र ढल सार्ने प्रक्रिया थाल्छौं,’ उनले भने ।

चक्रपथकै बाँकी महाराजगञ्ज–कोटेश्वर सडक विस्तारमा पनि चीनको चासो छ, जुन करिब नौ किमि लम्बाइको छ । पूरै चक्रपथ विस्तारमा सहयोग गर्न चीन यसअघि नै सहमत भइसकेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको चैत ०७२मा भएको चीन भ्रमणका बेला चक्रपथका सबै खण्ड विस्तारसम्बन्धि सहमति भएको थियो ।

संयोगवस, चार लेनको चक्रपथ चीनकै अनुदानमा ०२७ सालमा निर्माण भएको थियो, जसलाई आठ लेनमा स्तरोन्नती गर्न पनि उत्तरी छिमेकीले चासो लिँदै आएको छ ।

कोटेश्वर–कलंकी खण्डको विस्तारमा पाँच अर्ब रुपैयाँ लाग्ने अनुमान छ । र, चिनियाँ ठेकेदार र कामदारहरु नै सडक विस्तारमा उपयोग भइरहेका छन् ।

पूरै चक्रपथलाई आठ लेनमा विस्तार गर्ने योजनामा चिनियाँ पक्ष दृढ, थप खण्डको सम्भाव्यता अध्ययन सम्पन्न

उक्त खण्डको करिब ७० प्रतिशत काम सकिएको छ । ३० प्रतिशत निर्माणमा जुटिरहँदा सम्झौता अवधि ६ महिना मात्र बाँकी छ ।

उक्त खण्ड सञ्चालनमा आउनासाथ कलंकी–महाराजगञ्ज सडकमा काम थाल्ने योजनामा देखिएको छ, चिनियाँ पक्ष ।

मेडियनसहितको फरक डिजाइन

चक्रपथको बाँकी खण्डको डिजाइन भने केही फरक हुने विभागको वैदेशिक महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए । बाँकी १७ किमि सडकमा मेडियन अर्थात् दुई सडकको बीचमा खाली ठाउँ राखिनेछ ।

कोटेश्वर–कलंकी खण्डको बीचमा मेडियन राखिएको छैन । मेडियन नराखिएका सडकमा राति गुड्ने सवारी साधन चालकको आँखामा विपरित दिशाबाट आइरहेका सवारीको बत्ति पर्छ । र, निर्वाध अगाडि बढ्न असहज स्थिति बेहोर्नुपर्छ ।

कलंकीबाट महाराजगञ्ज हुँदै कोटेश्वरसम्मको १७ किमि सडक विस्तारको सम्भाव्यता अध्ययन पनि चिनियाँ प्राविधिकले नै गरिसकेका छन् । र, चीन सरकारले यसको प्रतिवेदनसमेत स्वीकृत गरिसकेको श्रेष्ठले जानकारी दिए । पूरै चक्रपथलाई आठ लेनको बनाउन १३ अर्ब रुपैयाँ लाग्ने विभागको प्रारम्भिक अनुमान छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *