गायक डम्बर नेपाली के गर्दैछन् अचेल?

तेजन खड्का
चर्चित गायक डम्बर नेपालीलाई सांगीतिक प्रस्तुति दिन भ्याइ–नभ्याई भइरहेको छ। पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म आयोजना हुने म्यूजिक कन्सर्टमा उनको सहभागिता रहने गर्छ।
 
सामाजिक सञ्जालमा कहिले उनी बाग्लुङ लेख्छन्। कहिले कार्यक्रमका लागि पोखरा। इलाम, पाँचथर र ताप्लेजुङमा पनि उनले मन जितिसकेका छन्। भर्खरै भोजपुरमा प्रस्तुति दिएर घर फर्किंदै गर्दा डम्बरसँग दमक महोत्सव आयोजकले कार्यक्रमका लागि रातारात सम्झौता गरेका छन्।
 
‘अहिले व्यस्तता बढेकाे छ’, गायक नेपालीले शुभदिनसँग भने – ‘साथीभाइ घर परिवारलाई भनेको बेला समय दिन मुस्किल परेको छ।’
 
डम्बरले विजया दशमी तथा शुभ दिपावलीमा त झनै एकदिनमै ४ वटा कन्सर्टमा प्रस्तुति दिन भ्याइसकेका छन्। कहिले विराटचोक त कहिले लेटाङ। दाम्राभिट्टा इटहरा त छुट्ने कुरै भएन।
 
त्यो अवधिमा उनले पूर्व मात्र होइन, पश्चिमतिर पनि आफ्नो प्रस्तुति दिए। ‘आयोजक साथीहरुले कार्यक्रमका लागि बोलाउँदा सकेसम्म समय दिने कोसिस गर्छु’, डम्बरले भने, ‘सबैकाे मन राख्न मनपर्छ, म सबैका लागि बराबरीकाे व्यवहार गर्छु।’
 
सांगीतिक कार्यक्रमका लागि एकैदिनमा २ पटकसम्म विराटनगरबाट काठमाडौं, काठमाडौंबाट विराटनगर ओहोरदोहोर गर्ने सम्भवतः भाग्यमानी गायकमा डम्बर नै पर्छन्। डम्बरको प्लस पाेइन्ट भनेको उनी धैरै मिलनसार छन्। सहयोगी भावनाका छन्। आफ्नो ठाउँमा यति–उति भनेर पारिश्रमिक तोक्दैनन्। अग्रिम सम्झौता गर्छन्।
 
खासमा अहिले डम्बरको नयाँ गीत आएको छैन। तर, उनका चर्चित गीतकै कारण स्टेजमा देख्न चाहनेकाे संख्या उत्तिकै छ। नेपाली गीतसंगीत मन पराउनेले उनको गीत ‘मेरो जीवनबाट जाने भए जाउ तर अन्तिम पटक भेट्न आउँ’ अत्यन्तै मनपराएका थिए।
 
पछिल्लो समय स्लो भर्सनदेखि फास्ट नम्बरका गीतमा डम्बर अब्बल देखिएपछि उनको डिमान्ड अझै बढेको हाे। कि यो जंगे रेलमा, बिग्रेको मान्छे म, म मान्छे नेपाली लगायतका गीत डम्बरले गाउँदा ननाच्ने दर्शक बिरलै भेटिन्छन्।
 
माहौल बेग्लै बनिरहेको पाइन्छ। स्वदेशमा मात्र होइन, विदेशमा पनि डम्बरको सहभागिता निकै रहने गर्छ। ‘धैरै त होइन १५ वटा देश जति गाउन गएँ होला’, डम्बरले भने – ‘दर्शक श्राेताको निकै माया पाएको छु।’
https://www.youtube.com/watch?v=sLL7MR5Z1Zs&t=126s

Leave a Reply

Your email address will not be published. Required fields are marked *